पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डपमा राप्रपाको जलपान कार्यक्रम
काठमाडौ, पुस २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको छ । जलपान समारोहमा विभिन्न राजनीतिक दलका अध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरू, समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ ।
समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताको उपस्थिति थियो ।
जलपान समारोहमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, पेशाकर्मी, उद्यमी, व्यवसायीलगायत सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो । राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसर पारेर जलपान कार्यक्रम आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका जातजाति, वेशभूषा झल्कने झाँकी प्रस्तुत गरिनुका साथै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कविता एवं गीतसङ्गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा आमन्त्रण गरिएका पाहुनालाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेताहरू बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, निरञ्जन थापा र धवलशम्शेर राणालगातयले स्वागत गर्नुभएको थियो । राप्रपा अहिले संसद्मा पाँचौँ ठूलो दलका रूपमा रहेको छ । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।