राष्ट्रपति निर्वाचनको मिति तोक्न कांग्रेसका उपसभापति खड्काको आग्रह
काठमाडौं माघ १५ गते । राष्ट्रपति निर्वाचनको मिति तोक्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आग्रह गरेका छन्। आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उपसभापति खड्काले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका छन्।
त्यसका लागि निर्वाचन आयोगले मिति तोक्नुपर्ने उपसभापति खड्काको भनाई छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेस प्रमुख प्रतिपक्षमा छ।कांग्रेसले राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्न माओवादीलाई आग्रह गर्दै आएको छ।माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताइरहेको छ।तर सत्ता साझेदार दल नेकपा एमालेले आफूहरूले राष्ट्रपति पाउने समझदारी सरकार गठनकै बेला भइसकेको बताइरहेको छ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’