Upalabdhi News

शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्छ –अध्यक्ष ओली

उपलब्धि मिडिया
माघ १६, २०७९ | ९:५५ बजे


काठमाडौं माघ १६ गते । समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । उनले शहीद दिवसको अवसरमा आज सन्देश दिँदै शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताएका छन् ।

अध्यक्ष ओलीले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्नसक्ने उल्लेख गरेका छन् ।उनले शहीदले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको जिकिर गरेका छन् । अध्यक्ष ओलीले देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेको बताएका छन् ।

अध्यक्ष ओलीद्वारा जारी सन्देशमा जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उल्लेख छ ।

उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमालेले अग्रसरता लिएको बताएका छन् । एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहेको उल्लेख गर्दै लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?