काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने विश्वप्रकाश शर्माको दाबी
काठमाडौं माघ १७ गते । काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन् । इलामको फिक्कलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेमा ढुक्क रहन आग्रह गरेका छन्।
महामन्त्री शर्माले कांग्रेसले प्रस्ताव गरेको र कांग्रेसको सहभागिता संलग्नता सहितको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व बन्ने बनाउने अवस्थामा पुग्नेमा विश्वास व्यक्त गरेका छन् । विधिवत छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने महामन्त्री शर्माले जानकारी दिएका छन् । महामन्त्री शर्माले कांग्रेस एक्लैलेभन्दा पनि सवैदलको साझा सहमतीबाट देशले योग्य राष्ट्रपति पाउने बताएका छन् ।
कांग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसंग समेत छलफल अघि बढाइने महामन्त्री शर्माको भनाइ छ । राष्ट्रपति नेपाली कांग्रेसले पाउने माओवादी वा अर्को पाउने भन्ने कोणभन्दा माथि राखेर साझा अपनत्व ग्रहण गर्न सक्ने व्यक्ति छानिनुपर्ने उनले बताएका छन्। महामन्त्री शर्माले नेपाली कांग्रेस जनताबाट निर्वाचित ठूलो दल भए पनि राजनीतिक परिस्थितीका कारण सरकार बाहिर बलियो प्रतिपक्षी भएको जिकिर गरेका छन्। प्रतिपक्षी भए पनि राष्ट्रपति चयनका लागि कांग्रेस नै निर्णायक बन्ने महामन्त्री शर्माले उल्लेख गरेका छन् ।