संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा जाँदा सङ्कट निम्तियाे–माधवकुमार नेपाल
काठमाडौं, माघ २१ गते । संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तिएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भन्दै प्रश्न समेत गरेका छन् । अध्यक्ष नेपालले संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको जिकिर गरेका छन् । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको उनको भनाई छ ।