राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गर्नु हो –प्रधानमन्त्री दाहाल

काठमाडौं, माघ २१ गते ।राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गर्नु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सबै वर्ग, जाति र समुदायलाई समान अवसर तथा प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताएका छन् । “अहिले आर्थिक चुनौती छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नुपर्ने छ । राष्ट्रिय एकताको आधार पनि यही नै हो”, “उत्पीडितको एकताले मात्र देशको रक्षाका साथै जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ ।”
प्रधानमन्त्री दाहालले उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको उल्लेख गरेका छन् । राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनको भनाइ थियो । आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायत आयोग बनाउने निष्कर्षमा पुगेका हौँ ।”
प्रधानमन्त्री दाहालले राज्यका सबै अङ्गमा समावेशी प्रतिनिधित्व पूर्ण नभए पनि सन्तोषजनक भएको बताएका छन् । “यो पूर्ण छैन । तर, यो निकै महत्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउनेबारे छलफल चलिरहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ”, उनले भने। समाज रुपान्तरणमा भएका सङ्घर्ष र त्यागको सम्मान गर्न हिच्कीचाउन नहुने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
