Upalabdhi News

पर्यटन व्यवसायलाई थप प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिन सरकारसँग आग्रह

उपलब्धि मिडिया
माघ २२, २०७९ | १०:३९ बजे


काठमाडौं, माघ २२ गते । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभीए) गण्डकी प्रदेशको चौथो वार्षिक साधारणसभामा पर्यटन व्यवसायलाई थप प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ ।कोरोना कहरलगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै कार्यक्रमका वक्ताले यसका लागि राज्यको व्यवसायमैत्री नीति एवं व्यवहार आवश्यक भएको बताएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना कहरले तहसनहस बनेको पर्यटन क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलगायतले थप समस्यामा पारेको बताए । चर्को ब्याजदरले व्यवसायी मारमा परिरहेको बताउँदै उनले ब्यजादर घटाउनुका साथै बैंक किस्ताको समयावधि बढाइदिने कुरामा सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।

सङ्घका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले कोभिड प्रभावित व्यवसायलाई जोगाउनका लागि सहुलियतका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औँल्याए । सङ्घका गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले पुराना गाडीका सम्बन्धमा सरकारको २० वर्षे नीति २७ वर्ष पुगेको बताएका छन् । पुराना सवारीसाधनलाई इलेक्ट्रिक मोडलमा रुपान्तरण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराए ।

एनटिभीए गण्डकीका निवर्तमान अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटक यातायातको दररेट अत्यन्त वैज्ञानिक ढङ्गले तयार गरिएको बताउँदै व्यवसायीलाई त्यसै अनुरुप एकरुपता कायम गर्न आग्रह गरेका छन् । कार्यक्रममा एनटिभीए गण्डकीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गादत्त दाहाल, सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष केदारनाथ शर्मा, विकास कँडेल, जनक कार्कीको सहभागिता रहेको थियो । साधारणसभाले संस्थाको रिक्त महासचिवमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा विकास कँडेल र सदस्यद्वयमा सुमन कुँवर र आनन्दराज अधिकारीलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?