मुल्य वृद्धिको विरोधमा मोदीविरुद्ध खनिए राहुल गान्धी
काठमाडौ, भदौ २० गते। इन्धनको मूल्य बृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौं भारतीयहरूले सरकारविरोधी प्रदर्शन गरेका हुन् । नेता राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाए ।
गान्धीले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरहरूको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पुर्याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए । बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले बताए ।
उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप लगाए । उनले संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को पनि आलोचना गरे । राहुलले भने, ‘ हिन्दू सर्वोच्चतावादी संगठन राष्ट्रिय स्वयंसेवक संघ भाजपाको वैचारिक आदर्श हो ।’
आठ वर्षअघि मोदी सत्तामा आएदेखि पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र गहुँजस्ता अत्यावश्यक खाद्यवस्तुको मूल्य ४०–१७५ प्रतिशतले बढेको कांग्रेस नेताले बताए ।