विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु
काठमाडौं, भदौ २२ गते । कपिलवस्तु, कैलाली, सप्तरी र सर्लाहीमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट लागी गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका–२ बनखेत बस्ने ६५ वर्षीया किजी देवीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको रौतहट इशनाथ नगरपालिका–९ लक्ष्मीनिया घर भई हाल सप्तरी बोदेबर्साईन नगरपालिका–५ बस्ने ३५ वर्षीय सिकिन्दर महतोको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै पसलमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सर्लाहीको मलंगवा नगरपालिका–१२ कर्मैया बजार टोल बस्ने ३२ वर्षीय प्रकाश वाईबाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडिको विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बागमती मोडल अस्पताल कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।