Upalabdhi News

भारतले धान चामल निर्यातमा भन्सार बढायो, बासमती बाहेकका चामलमा २०% निर्यात कर

उपलब्धि मिडिया
भदौ २४, २०७९ | ३:१० बजे

काठमाडौं, भदौ २४ गते । भारतले आज शुक्रवारदेखि कनिका निर्यातमा रोक लगाउनुको साथै धान चामल निर्यातमा २० प्रतिशत भन्सार बढाएको छ । आफ्नो उत्पादन घटेको र रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सङ्कट बढ्दै गएकोले आफ्नो बजारमा मूल्य नियन्त्रणका लागि धान चामलमा भन्सार वृद्धि र कनिका निर्यातमा रोक लगाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

भारतका केही राज्यमा कम वर्षा हुँदा गएको वर्षको तुलनामा धान रोपाइँ झन्डै ६ प्रतिशतले घटेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतले गएको आर्थिक वर्ष दुई करोड १२ लाख टन चामल निकासी गरेको थियो । भारतले यसअघि नै गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

यसैबीच भारतले धान चामल निर्यातमा गरेको भन्सार वृद्धि र कनिका निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजार पनि प्रभावित हुने भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालले गएको वर्ष ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको भाउ बढ्नेछ भने कनिका निर्यातमा लगाइएको रोकले जाँड–रक्सी, दानालगायतका उत्पादनमा असर पर्नेछ । मुख्य चाडबाडकै बेला भारतले गरेको करवृद्धिका कारण नेपाली बजार प्रभावित हुने देखिन्छ ।

मूल्य आकासिने संकेत

भारतले बासमतीबाहेकका चामलमा २० प्रतिशत कर बढाउँदा त्यसको असर नेपाली भान्छामा पर्ने भएको छ। अहिले पनि भारतबाट ठूलो मात्रामा चामल आयात हुने गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ५ लाख ५० हजार टन धान, ५ लाख २० हजार टन चामल र ५० हजार टन कनिका आयात भएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै करिब १६ करोड रुपैयाँ बराबरको ५० लाख किलो कनिका आयात भएको छ।

चामलमा भारत निर्भर रहेकाले कर बढ्ने बित्तिकै मूल्य पनि बढ्छ। एक व्यवसायीका अनुसार २० प्रतिशत कर बढ्दा जिरा मसिनोको मूल्य किलोमा १९ रुपैयाँ महँगिनेछ। एक व्यवसायीका अनुसार यो करपछि जिरा मसिनो चामल किलोमै १९ रुपैयाँसम्म महँगो पर्छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?