Upalabdhi News

गण्डकीमा मन्त्रालय फुटाएर ९ पुर्याइयो

उपलब्धि मिडिया
चैत्र २९, २०८० | २:३६ बजे

काठमाडौ, २९ चैत्र । गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या बढाउने निणर्य गरेको छ । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले मन्त्रालय संख्या ७ बाट बढाएर ९ पुर्याउने निणर्य गरेको हो ।
गण्डकी सरकारले सर्वोच्च अदालतको आदेश अगावै यस्तो निणर्य गरेको पाइएको छ । सर्वोच्च अदालतले बुधबार मात्र खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निणर्य नगर्न अन्तरिम आदेश दिएको थियो। संविधानको मर्म विपरीत सरकार बनेको भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालेको रिट निवेदनमा सर्वोच्च अदालतले सो अन्तरिम आदेश दिएको थियो । तर सर्वोच्चको आदेश आउनु अघि नै मन्त्री परिषद् बैठकले हाल ७ मन्त्रालयलाई फुटाएर ९ पुर्याउने निणर्य भएको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषद् मातहतबाट आन्तरिक मन्त्रालय फुटाएर छुट्टै बनाउने र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फुटाएर स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निणर्य भएको छ ।
यसअघि १२ मन्त्रालय रहेको गण्डकीमा ५ मन्त्रालय कटौती गरेर ७ वटा मात्रै मन्त्रालय बनाउने निणर्य खगराज अधिकारीकै पालामा भएको थियो । तत्कालीन अवस्थामा मन्त्रालय संख्या धेरै हुँदा संघीयता कमजोर बनेको भन्दै उनले मन्त्रालय संख्या ७ मा झारेका थिए । तर अहिले उनकै दोश्रो कार्यकालमा मन्त्रालय संख्या थपेपछि जनस्तरबाट आलोचना सुरु भएको छ ।
गण्डकीमा नेपाली कांग्रेसको २७, एमालेको २२, माओवादीको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङेसहित ६० सांसद छन् । गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । राप्रपाको समर्थनबिना सत्तारुढ गठबन्धन वा कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?