नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरीलाई रञ्जिताले गरिन् निलम्बन
काठमाडौ, ३० चैत्र । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरेकी छिन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।
नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरिएको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् । पार्टीको चैत १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको भन्दै संस्थापक अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार निलम्बन गरेकी हुन् ।
‘घनश्याम चौधरीलाई पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निणर्य गर्नुपर्ने भनी पटक-पटक बोलाइएकोमा पार्टीलाई नै निराश गर्ने गरी बैठकमा उपस्थित नभएको र निजले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गरी पठाइएको स्पष्टीकरण पत्र चितबुझ्दो नभएकाले, नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ धारा १७ (क) को २, ४ र ५ बमोजिम कार्यगरेकोले पार्टीको केन्द्रीय कमिटिको मिति चैत ३० गतेको निणर्य बमोजिम निजलाई तीन महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु,’ सूचनामा भनिएको छ । यसअघि संस्थापक अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई संसदीय दलको नेताबाट पनि हटाइएकी थिइन् । नाउपाको सुदूरपश्चिम संसदीय दलमा श्रेष्ठनिकट कैलाश चौधरी नेता चयन भइसकेका छन् ।
यसैबीच सत्ता गठबन्धनले नाउपालाई सुदूरपश्चिमको मुख्यमन्त्री दिने समझदारी गरेको छ । तर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएको नाउपाभित्र रडाको मच्चिएको छ । यसअघि अध्यक्ष चौधरीले सांसद इन्दिरा गिरीलाई कारबाही गरेकी थिइन् । सुदूरपश्चिमा नाउपाका अब ६ जना सांसद छन् । यद्यपि बहुमत सांसद भने संरक्षक चौधरीतिर छन् । चौधरीको पक्षमा चार जना सांसद खुलेका छन् ।