Upalabdhi News

प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने, कांग्रेसले संसद् चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

उपलब्धि मिडिया
चैत्र ३०, २०८० | २:३४ बजे

काठमाडौ, ३० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए । ’अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ। यस्तै हुन्छ,’ उनले सञ्चारकर्मीसँग भने, ’कांग्रेसले चल्न नदिएर ।’
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ ।
सरकारले अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चासमेत भइरहेका छन् । प्रधानमन्त्री दाहालले लगानी वातावरण बनाउन अध्यादेश ल्याउन सकिने पनि अभिव्यक्ति दिएका थिए । साथै सिंहदरबारमा शुक्रबार दिउँसो मन्त्रिपरिषद बैठक बसेको छ । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?