Upalabdhi News

म केपीजीलाई विश्वास गर्न चाहन्छु : प्रधानमन्त्री दाहाल

उपलब्धि मिडिया
बैशाख १०, २०८१ | ४:४२ बजे

काठमाडौ, १० बैशाख । तत्काल दुई पार्टी एकता नगर्ने र अहिलेलाई सत्ता सहकार्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बोली मिलेको छ । उनीहरूबीच फागनु २१ को नयाँ सत्ता समीकरणयता नै कुरा मिल्दै आएको थियो ।
सोमबार गोदावरीमा नेकपा (एमाले) ले गरेको हीरक महोत्सवमा बोल्ने क्रममा प्रधानमन्त्रीले आफूले ओलीलाई विश्वास गर्न चाहेको बताएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले कम्युनिष्टहरूको सहकार्यमा देशमा ठूला ठूला परिवर्तन आएको बताए । कम्युनिष्टहरू मिल्दा ठुल्ठूला सफलता हासिल गरेको र नमिल्दा नोक्सान भएको बारेमा पनि स्मरण गरे । उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको पनि जिकिर गरे । उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको सुनाए ।

‘अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको सुरुवात भएको छ । जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर मिलेको छ । जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुन्छ ।’ उनले भने । नेकपा एकता र विग्रहको समीक्षासहितको सम्बोधनको अन्तिममा उनले पुनः आफू ओलीलाई विश्वास गर्न चाहेको बताए । ‘कमरेड केपी ओलीलाई म विश्वास गर्न चाहन्छु, हामी हिजो विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रेका छौं,’ म विश्वास गर्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?