कारोबारको पहिलो दिन नेप्सेसंगै कारोबार रकम पनि घट्यो
काठमाडौ, २३ बैशाख । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आइतबार नेप्से परिसूचक २४.५८ अंक घटेर १९७४.३७ विन्दु झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६० हजार ५२३ पटकको कारोबारमा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको ९७ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन दोल्टी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन साधना लघुवित्त र समता लघुवित्तको शेयरमूल्य ८.७२ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन १२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब १२ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम साढे ११ करोड नाघेको छ । १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।