सामान्य अंक बढेर बन्द भयो नेप्से
काठमाडौ, १४ जेठ । आइतबारको करेक्सनपछि यस दिन पुनः नेप्सेले बढ्ने क्रमलाई निरन्तरता दिएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन ३१७ स्टकको ५८ हजार ४८३ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से सामान्य अंक बढेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य ९.७९ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्यक करिब साढे ८ प्रतिशत बढेको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.४१ प्रतिशत बढेको छ । यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ ।