बजेट पछिको पहिलो कारोबार दिन नेप्से घट्यो तर कारोबार रकम बढ्यो
काठमाडौ, १६ जेठ । बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर २१०० विन्दुभन्दा तल झरेको छ । मंगलबार प्रस्तुत भएको बजेटले लगानीकर्ताहरुको माग सम्बोधन नगर्दा यस दिन बजार घटेको हो ।
लगानीकर्ताहरु आगामी आर्थिक वर्षको बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था गर्ने अपेक्षा गरेका थिए । सोही अपेक्षामा बजेट अघिका दिनहरुमा बजार बढेको थियो । तर, हिजो प्रस्तुत भएको बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरु निराश भएका छन् । जसका कारण यस दिनको बजार घटेर २१०० विन्दुभन्दा तल झरेको हो । बुधबार नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।