Upalabdhi News

राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

उपलब्धि मिडिया
असार १, २०८१ | १:०९ बजे

काठमाडौ, ३२ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सदनको नेता प्रधानमन्त्री भएपनि उनले सदनलाई बिर्सेर सदनबाट भाग्न खाजेको आरोप लगाए । प्रमुख सचेतक लेखकले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको बताए । उनले प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म सदन आउन नसकेको बताए । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले सदनको न्युनतम गरिमा नराखेको भन्दै सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए । उनले राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश भ्रमण गएको विषयमा सदनलाई जानकारी गराउन माग गरे ।
आगामी बैठकमा दुवै भ्रमणमबारे जानकारी गराउनका लागि प्रमुख सचेतक लेखकले सभामुखबाट रूलिङको माग गरेका छन् । ’प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौं । प्रधानमन्त्री सदनमा उपस्थिति हुनु होला । भारत भ्रमणको बारेमा जानकारी गराउनु होला । सदनले थाहा पाउँछ भनेर कुरेर बसेका थियौं । तर पाँच दिनसम्म प्रधानमन्त्री सदनमा आउन सक्नुभएन । मैले स्मरण गराउनुपर्ने भयो’ प्रमुख सचेतक लेखकले भने,’ प्रधानमन्त्री सदनको नेता हो । कार्यकारी प्रमुख हो । उहाँ विदेश भ्रमणमा जाँदा सदनले थाहा पाउन पत्रिका बढेर थाहा पाउनुपर्ने अवस्था छ । प्रतिपक्षका हैसियतले सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने मेरो सौभाग्य हो की, सरकारको दुर्भाग्य हो । अर्को विषय राष्ट्र प्रमुख राष्ट्रपतिज्यु मुलुक बाहिर जानुभएको छ । राष्ट्रप्रमुख देश बाहिर जानुहुन्छ । सरकार प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ । तर सदनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबार बढेर थाहा पाउनुपर्ने दुर्भाग्य भन्नुपर्छ । सरकारका कारणले संसदको न्युनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन । यो खेदजनक छ ।’
प्रमुख सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ मागे । उनले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उल्लेख गरे । उनले सदनमा प्रधानमन्त्री नपाएर प्रतिपक्षले माग गरेका विषयमा जानकारी दिन तयारी गरेर एकैचोटी जवाफ दिन खोज्नुभएको हो ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री सदनमा नआएर जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? भन्ने अनुमान गर्नु पर्ने अवस्था आएको बताए ।
’प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूणर् आफ्ना अभिव्यक्तिहरू दिनुभयो । हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौं । मैले के विश्वास गरौं हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? मैले के अनुमान गर्ने ?’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?