काठमाडौं महानगरको बजार अनुगमनले ४ ब्रान्डका खानेतेलमा धेरै अखाद्य तत्व भेटाए
काठमाडौ, २० असार । काठमाडौं महानगरपालिकाले १३ ब्रान्डका खानेतेलको नमुना परीक्षण गर्दा चारवटा ब्रान्डमा अखाद्य तत्वको मात्रा धेरै रहेको फेला पारेको छ । नमुना परीक्षणमा सरकारले तोकेको ‘पेरोक्साइड भ्यालु’ धेरै फेला परेपछि हरेक ब्रान्डलाई दुई लाख जरिवाना र बजारमा पुगेको सामान फिर्ता ल्याउन निर्देशन दिएको छ ।
नमुना परीक्षणका क्रममा २७ पुस ०८० मा उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच/लट नम्बर एस-२ को रिफाइन सोयाबिन आयलमा ‘पेरोक्साइड भ्यालु’ धेरै फेला परेको थियो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोरङको उत्पादन हो । यस्तै, कात्तिक ०८० मा उत्पादन भएको अमृत ब्रान्डको ब्याच/लट नम्बर ११ को रिफाइन सोयाबिन आयल र चैत ०८० मा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच/लट नम्बर ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादन क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालि, वीरगन्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।
माघ ०८० मा उत्पादन भएको, ब्याच/लट नम्बर १० को फेमिली ब्रान्डको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डअनुसार नरहेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घिउ उद्योग जितपुर, बाराको उत्पादन हो ।






