Upalabdhi News

तोरीको तेल डबल त्रिशूलमा अखाद्य पदार्थ ‘लेदो’ भेटियो

उपलब्धि मिडिया
असार २१, २०८१ | ३:३९ बजे

काठमाडौ, २१ असार । श्री हनुमान आधुनिक खानेतेल उद्योग छत्तरपिपरा बारामा उत्पादित डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित एक होलसेल पसलबाट खरिद गरिएको डबल त्रिशूल नामक तोरीको तेलमा लेदो भेटिएको थियो । तरकारी पकाउन प्रयोग गर्ने क्रममा कराई (तरकारी पकाउन प्रयोग गरिने भाँडो)मा हालिएको तेल तातिँदै गएपछि बिस्तारै लेदो बनेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलका स्थानीय बासिन्दा एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) नगर कमिटी अध्यक्ष गोपाल आचार्यले जानकारी दिए ।

‘स्वास्थ्य शक्ति स्वादिष्ट भोजन र अचारका लागि’ भनेर लेखिएको तेलको प्याकेट नौ महिनासम्म प्रयोग गर्न सकिने उल्लेख छ । तर, गत वैशाखमा उत्पादन गरिएको भनिएको तोरीको तेलमा फोहोरको लेदो भेटिनुमा उत्पादक कम्पनीको ठूलो लापरबाही देखियो,’ उनले भने, ‘एउटा प्याकेटमा मात्र त्यस्तो होला भनेर अर्को खोलेर हेर्दासमेत त्यस्तै देखियो । यस विषयमा कम्पनीका मालिकसँग फोन सम्पर्क गर्यौँ । उहाँले चासो दिनुभएन । यसप्रति सम्बन्धित निकायको ध्यान दिन जरुरी छ । उपभोक्ताको स्वास्थ्यप्रति कसैले पनि खेलबाड गर्न मिल्दैन ।’
छिमेकी जिल्ला उदयपुरको गाईघाट तथा कटारी हुँदै ट्रकमार्फत खोटाङको दिक्तेल बजार ल्याएर बिक्री गरिएको उक्त कम्पनीको तोरीको तेलमा लेदो भेटिएको गुनासो आएपछि पत्रकारहरूको उपस्थितिमा परीक्षण गर्दासमेत त्यस्तै भेटिएको हो । दिक्तेलस्थित अस्पताल चोकमा सञ्चालित प्रज्ज्वल स्टोरबाट एक सय पाँच रुपैयाँमा खरिद गरेर पुनः परीक्षण गर्दासमेत उक्त तेल तातिँदै गएपछि बिस्तारै लेदो बनेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?