Upalabdhi News

नदीजन्य पदार्थको अवैध दोहन आशङ्कामा क्रसरमा मुख्यमन्त्री सिंहको छापा

उपलब्धि मिडिया
माघ २८, २०८१ | ९:१६ बजे


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन तीव्र पारेका छन् । मुख्यमन्त्री सिंहले आइतबार साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन् । 

कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन् भएको ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगहरूले गरिरहेको जानकारी प्राप्त भएपछि मुख्यमन्त्री सिंह धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीसँग क्रसर उद्योग अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङ्गा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिँहले सोमबार स्थानीय तहसँग छलफल र अन्य प्रमाणीकरणका विषय टुङ्गो लगाएर मात्र क्रसर सञ्चालन गर्न दिइने जानकारी दिए । 

मुख्यमन्त्री सिंहले कमलामाई क्रसर उद्योगमा पुगेर क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुङ्गा, गिट्टी र बालुवाको परिमाणत्मक सञ्चिति, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित मापदण्डअनुसारका ठाउँमा खोला खनिएको वा नखनिएको, खोला खन्दाको ठाउँ र गहिराइ, परिणाम, सञ्चिति प्रमाणीकरण लगायतका विषयमा जानकारी लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?