नेपाली यू–१६ क्रिकेटः रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित
काठमाडौं । नेपाली यू–१६ क्रिकेट टोलीले एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा शानदार प्रदर्शन गर्दै समूह ए को विजेता बनेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
क्वालालम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो। नेपाली ब्याट्सम्यान रौनक श्रीवास्तवले कीर्तिमानी १६८ रन बनाउँदै टिमलाई ठूलो योगफलमा पुर्याए। उनले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गरेका थिए। यो उमेर समूहमा नेपालको व्यक्तिगत सर्वाधिक स्कोर हो।
रौनकसँगै जय थापा ६१ रनमा अविजित रहे भने विकेटकिपर शिवांश बजगाइले ५४ रन बनाए। सुगम बुढाथोकीले ३५ रन जोड्दा ओपनर परिमार्जन यादव र प्रसिद्ध जैसी भने सस्तैमा आउट भए।भुटानका बलर सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए।
३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानी टोली ३२।४ ओभरमै ६० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन प्रसाद शर्माले ६ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए। सचिन भट्टले २, सुयोग भट्टराईले २ विकेट लिए।
भुटानका दुई खेलाडी सेजाङ दावा ९१४ रन० र उगेन केल्जाङ ९१० रन० मात्र दोहोरो अंकमा पुग्न सके। अन्तिम ब्याट्सम्यान मैदानमा नआएको कारण ९ विकेटमै भुटानको इनिङ समाप्त भएको घोषणा गरिएको थियो।
नेपाल समूह ए मा ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। अब उसले बिहीबार समूह बी उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा समूह बी विजेता हङकङ र समूह ए उपविजेता सिंगापुर भिड्नेछन्।तेस्रो स्थानको खेल र फाइनल शनिबार खेलिने कार्यक्रम छ।









