Upalabdhi News

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

उपलब्धि मिडिया
भदौ १८, २०८२ | १०:४७ बजे


काठमाडौं।  विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । आज बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।

इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरिरलाई अन्त्येष्टि गर्ने तयारी छ । तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीतसंगीतलाई विश्वभर फैलाउन भूमिका खेलिन् । रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् ।

नेपाली लोक, आधुनिक, र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी थिइन्। उनको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो। उनले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?