Upalabdhi News

 इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु

उपलब्धि मिडिया
अशोज १९, २०८२ | ११:०७ बजे


 काठमाडौं ।   इलाममा बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले १४ जनाको मृत्यु पुष्टि भएको र यो संख्या बढ्ने बताए। उनका अनुसार इलाम नगरपालिका ६, घोसमा एकै घरमा छ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। सूर्योदय नगरपालिका १, मानेभज्याङमा पनि पहिरोले पुरिएर एकै घरका आमाछोरीसहित पाँच जनाको मृत्यु भएको छ।

 त्यस्तै माङ्सेबुङ गाउँपालिकामा १ मा तीनको घरले पुरेर मृत्यु भएको तथा १ गर्भवती महिला र १ पुरुष गम्भीर घाइते भएकाले हेलिकप्टरबाट उद्धारको तयारी गरिएको छ। ‘बेपत्ताको संख्या पनि रहेकाले मृतको संख्या बढ्ने सम्भावना अझै छ । 

कार्यालयले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएपनि संख्या यकिन गरेको छैन। तर, विभिन्न स्रोतले अन्य स्थानमा पनि मानवीय क्षति भएको जनाएका छन्। सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको र उनकी आमा गम्भीर घाइते भएको वडाध्यक्ष रहरकुमार राईले जानकारी दिएका छन्।

माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका पाँच जना बेपत्ता रहेकामा चार जनाको शव फेला परेको स्थानीय निसान खतिवडाले बताए। सन्दकपुर गाउँपालिका ३, सुलुबुङकी बालिका घरसँगै बेपत्ता भएकी छिन्।  

देउमाई नगरपालिका ५, धुसेनीमा दुई बालबच्चा बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको छ। ‘घटनाको विवरण संकलन भइरहेको छ,’ सिडिओ सुनिता नेपालले भनिन्, ‘प्रहरी पुगेर यकिन विवरण आएपछि मात्रै मृत्यु र अन्य विवरण पुष्टि हुन्छ। प्रहरी सबैतिर पुग्दैछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?