मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो। दुर्घटना बिहान करिब ७ बजेतिर भएको बताइन्छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट प्रहरी सहायक निरीक्षक ९प्र।स।नि० सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक समिर तामाङ बारा–कोल्बी नगरपालिका निवासी हुन् र उनी प्रहरी सम्पर्कमा रहेका छन्।
दुर्घटनापछि उक्त सडकखण्डमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। पल्टिएको ट्रक सडकको बीचभागमा अड्किएकाले अन्य सवारी साधन रोकिएका छन्।









