मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन आयोग आग्रह
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ ।आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई समेत यस्तो आग्रह गरेका छन् ।
‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ’ सूचनामा उल्लेख छ ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले मात्र मतदान गर्न पाउँछन् । हालसम्म पनि नामावलीमा नाम दर्ता गर्न छुट भएको भए आफ्नो नागरिकता सहित आयोगको वेभ ठेगानामा गएर प्रि–रजिष्ट्रेसन प्रणाली मार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको दिन, समय र स्थानमा गई फोटो र बायोमेट्रिक दिन सकिन्छ । विवाह, बसाइँसराइ लगायतका कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा अन्य विवरण अद्यावधिक गर्नुपर्ने भएमा बसाइँसराइ वा अन्य सम्बन्धित कागजात सहित आवेदन दिन सकिन्छ ।






