Upalabdhi News

पार्टी दर्तागर्नुअघि सुमना र सुदनको टीमसँग छलफलमा कुलमान घिसिङ

उपलब्धि मिडिया
कार्तिक २५, २०८२ | १२:०५ बजे

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ गठन गर्ने अन्तिम तयारीमा छन् । जसका लागि उनको टिम मंगलबार निर्वाचन आयोग जाने भएको छ । 

आयोगमा जानुअघि कुलमानको टीमले रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ र हामी नेपालका संस्थापक सुदन गुरूङसँग अन्तिम छलफलमा जुटेको छ ।  कुलमान निकट जितराम लामाले आयोग जानुअघि आज सुमना र हामी नेपालका संस्थापक सुदन गुरूङको टिमसँग छलफल भइरहेको जानकारी दिए । 

यसअघि सुमना र गुरुङलगायत एउटै पार्टी निर्माण गरेर अघि बढ्ने भनिएको थियो । तर, सहमति नभएपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका थिए । सुमनाले पार्टीको नाम लगायतका विषयमा असहमति राखेको बताइएको छ । 

अहिले फेरि कुलमान, सुमना र सुदनको टिम एउटै पार्टी बनाएर जाने विषयमा अन्तिम छलफल भइरहेको भन्दै लामाले सहमति भएको खण्डमा एकीकृत ढंगले आयोगमा जाने बताए ।

सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय हुने छैनन् । सोहीकारण पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गराउने तयारी छ । कुलमानको पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्न प्रस्ताव गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?