Upalabdhi News

नेपाल प्रिमियर लिगः पहिलोपटक प्लेअफमा पुगेका काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

उपलब्धि मिडिया
मंसिर २४, २०८२ | ९:२३ बजे


काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् ।

त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । किनभने यो नकआउट खेल हो जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।

अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्‍वालिफायरमा खेल्नुपर्ने हुन्छ ।

पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि खेल्नेछ ।

काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउने सोचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?