Upalabdhi News

निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुनेछ–शशांक कोइराला

उपलब्धि मिडिया
कार्तिक २६, २०७९ | ११:०३ बजे


काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् । कोइराला नवलपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उमेदवार हुन । आज गैँडाकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताएका छन् ।

उनले जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको र चुनाव लगत्तै समस्या समाधान हुने उनको भनाई छ । नेता कोइरालाले केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको स्पष्ट पारेका छन् ।

नेता कोइरालाले उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने उल्लेख गरेका छन् । राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताएका छन् । नेता कोइरालाले आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?