देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्छ–शेरबहादुर देउवा
काठमाडौं, २७ कात्तिक । अहिलेको गठबन्धन दुई–तीनवटा चुनावसम्म कायम रहने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चितवनमा गठबन्धनलाई जिताए थप दुई–तीनवटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन् । यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने प्रधानमन्त्री देउवाले दाबी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई खेलौना ठानेको पनि देउवाले आरोप लगाए । सभापति देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दाबी गरे । देउवाले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताएका छन् । उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने तर्क गरेका छन् ।