नबिल फ्लेक्सी क्याप फन्डमा आवेदन दिने समय लम्बियो
काठमाडौं , २७ कात्तिक । नबिल फ्लेक्सी क्याप फन्डमा आवेदन दिने समय लम्बिएको छ । अब यसमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिने भनिएको थियो ।
तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो । नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो ।
फन्डले कुल ७ करोड ५० इकाई निष्कासन गरेको छ । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ ।
बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ ।
प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।