Upalabdhi News

कृषि विकासका लागि एमाले उम्मेदवारका १८ प्रतिबद्धता

उपलब्धि मिडिया
कार्तिक २७, २०७९ | २:२३ बजे

काठमाडौं, २७ कात्तिक । रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि १८ वटा प्रतिवद्धता अगाडि सारेका छन् ।

तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गरेर चर्चामा आएका घिमिरेले रुपन्देहीको क्षेत्रनम्बर ५ को कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई समेटेर कृषि तथा पशुपालन क्षेत्रमा दशकै नमुना बनाउने योजना बनाएका हुन् । 

घिमिरेले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा निर्वाचन क्षेत्रभित्र रहेका खेतीयोग्य जमिनलाई सिंचाईका लागि ईंगुरिया, बनरहवा, पहिला खोला, तेलहरा, कोठी र कञ्चन, दानव नदी र विभिन्न तालबाट लिफ्टको व्यवस्था मिलाएर सिंचाईंको व्यवस्थापन गर्ने योजना बनाएका छन् । 

घिमिरेका अनुसार चालु अवस्थामा नभएका डीप ट्युबेललाई सञ्चालन गर्ने, व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहित गरिने छ भने कृषि बाली, पशु विमालाई अनिवार्य गर्ने गरी योजना अगाडि बढाएका हुन् ।

आवश्यकता र जनताको माग अनुसारको कृषि पकेट निर्माण गर्ने, कृषिलाई व्यवस्थित गर्न, सहुलियत दिन विभिन्न क्षेत्रमा किसान कार्डको योजनासमेत उनले अगाडि बढाएका हुन् । निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्दै सामुहिक तथा सहकारी कृषि, पशुपालन कार्यमा लाग्ने कृषकहरुलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्थापन गर्ने समेत उनको योजना रहेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार घिमिरे भन्छन्, ‘पशुपालक कृषकको लगानी सुरक्षित गर्न पशु बिमा कार्यक्रम, आधारभूत निःशुल्क भेटेनरी सेवा उपलब्ध गराउनेसमेत हाम्रो योजना रहेको छ ।’

उनका प्रतिवद्धतामा किसानको लागि समयमा नै मलको व्यवस्थापन गर्नको लागि  पूर्वतयारी गर्ने, कञ्चन बाँधलाई पुनःनिर्माणसहित पालिकाका किसानको हितमा हुने गरी व्यवस्थित गर्ने, रासायनिक मलको सट्टामा जैविक मल उत्पादन र प्रयोगमा जोड दिने कार्यक्रम छ ।

यस्तै जग्गाको दीर्घकालीन विकासका लागि गुरुयोजना बनाएर लागू गर्ने, वन क्षेत्र, सहरी क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्रको विभाजन गरी सोहीअनुसारको विकास गर्ने योजना उनले अगाडि बढाएका छन् । यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का नदी तथा खेलाहरुबाट हुने भूक्षय नियन्त्रणका लागि तटबन्धसहितको आवश्यक पूर्वाधार निर्माण, वन चुरे पहाड, तालतलैयालगायत प्राकृतिक सम्पदाको संरक्षणसहित विविध कार्यक्रम सञ्चालन गर्ने र कोठी खोला, कञ्चन खोला, दानव खोला लगायतका नदीमा जलाधार संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना उनले बनाएका हुन् । 

यो निर्वाचन क्षेत्र अन्तर्गत प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे, प्रदेशसभा निर्वाचन क्षेत्र ५(१)मा भुमिश्वर ढकाल, ५(२)मा रामचन्द्र यादव चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?