सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ – उपप्रधानमन्त्री लामिछाने
काठमाडौं पुस २१ गते । सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सरकारमा सहभागी दलका तर्फबाट आज पनि छलफल हुने र अन्तिम रुप दिइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै दलका साथीहरु आज पनि बस्दै हुनुहुन्छ । हामी अन्तिम चरणमा पुगेका छौँ । भोलिसम्म सकिन्छ भन्ने नै छ ।” उहाँले सरकारको नीति तथा कार्यक्रम छिट्टै सार्वजनिक हुने पनि उल्लेख गर्नुभयो । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने, किसानलाई सहजरुपमा रासायनिक मल प्रदान गर्ने, युवा स्वरोजगार कार्यक्रम तथा विभिन्न नीतिगत सुधारलगायतका विषयमा साझा कार्यक्रम केन्द्रित रहेको र त्यसमा सबैको सहमति रहेको उहाँको भनाइ छ ।
यस्तै सहजरुपमा स्वास्थ्य र शिक्षा प्राप्त गर्ने अवस्था, सेवा प्रवाहमा सरलीकृत प्रबन्ध एवं सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा ठोस योजना साझा कार्यक्रम समेटिएको उहाँले बताउनुभयो । उहाँले आमनागरिकलाई पहिलो प्राथमिकता राखेर भ्रष्टाचार नियन्त्रणमा कडा कदम चाल्न लागिएको समेत जानकारी दिनुभयो । सरकारमा सहभागी राजनीतिक दलको विचार सिद्धान्त फरकफरक भए पनि नागरिकलाई सेवा दिने विषयमा साझा मत रहेको उहाँको भनाइ छ । नीति तथा कार्यक्रमबारेमा सत्ता साझेदार दलले बुधबार साँझ पनि छलफल गरेका थिए । —