अपराधीको स्थान कहाँ हो , पार्टीमा हो कि जेलमा हो ? –गोविन्द केसी
काठमाडौ, पुस २४ गते । आज निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । महिला अधिकारकर्मीहरुले माईतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै बिरोध प्रदर्शन गरेका हुन् ।
बिरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो रु लगायतका प्लोकार्ड बोकेर सांकेतिक बिरोध जनाएका थिए ।
त्यस्तै सामाजिक अभियान्ता डा.गोविन्द केसीले बिरोध कार्यक्रममा बोल्दै अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधिलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको आरोप लगाएका छन् । उनले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताएका छन् ।
उनले भने, ‘अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ?पार्टीमा हो कि जेलमा हो ? अपहरण गरेर मार्ने देखेका मान्छेहरुले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टिकरण र अपराधिकरण अरु के हुन्छ । राजनीति शुद्धिकरण हुनुपर्छ । राजनीति भ्रष्टीकरण र अपराधिकरण गर्नेहरुको छ । चरमसीमामा गरिएको छ । राजनीति भनेको अपराधिहरुले चलाउने भएको छ ।’
बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताइन् । उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरिन् । आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।