संविधानलाई पूर्णता दिएर अगाडि बढ्नुपर्छ –शरत्सिंह भण्डारी
काठमाडौ, पुस २५ गते । लोकतान्त्रिक समाजवादी पार्टीको नेता शरत्सिंह भण्डारीले संविधानलाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले , राजनीतिक र सामाजिक समस्या समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । “हामीसँग यो अन्तिम अवसर हो”, उनले भने ।
संसद्मा बल्ल जनताको आवाज प्रतिध्वनि भएको नेता भण्डारीले बताएका छन् । यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको नेता भण्डारीले बताएका हुन् । यसरी संसद्मा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उनको भनाइ छ ।सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न जनताले मत दिएको बताउँदै उनले संविधानले प्रत्याभूत गरेअनुसार काम गर्नुपर्ने बताए । अन्यथा नयाँ दल र युवालाई समेत जनताले विश्वास गर्न सक्ने अवस्था पनि नरहने बताए । भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिइनुपर्ने र बन्दी जीवन बिताइरहेका रेशम चौधरी लगायतलाई रिहाइ गरिनुपर्ने बताएका छन् । पहिचानसहितको प्रदेश खोज्दा जेल जानुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दल र तीनका नेतामा सिद्धान्त, नीति, नैतिकताले काम नगरी जसरी पनि सत्तामा पुग्ने खेलमा राजनीतिक दलका नेताप्रति जनताको आस्था कमजोर देखिएको बताएका छन् । उनले भने , “राष्ट्रियता र स्वाधीनताको रक्षा गर्नेतर्फ हामी सबै जुट्नपर्छ, सत्ता केन्द्रित राजनीतिले देश विकासमा पछि परेको हो । देशमा भएका सांसद र मन्त्रीको सङ्ख्या बढी भएकाले अर्थतन्त्रले कसरी धान्छ?”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रियताका विषयमा सबै दल गम्भीर हुनुपर्ने बताएका छन् । उनले जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै पूर्वाधार विकासका क्रममा विस्थापित जनताको पुनःस्थापनामा सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा हुँदा खाने र हुने खाने सबैले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र जर्जर अवस्थामा छ, यो विचौलियाको चपेटामा परेर भएको हो, राजनीतिमा सिद्धान्त, आदर्श र समर्पण चाहिन्छ । जनतालाई शिक्षा र स्वास्थ्य, किसानलाई मल र बीउ चाहिएको छ ।”
स्वतन्त्र सांसद प्रभु साहले राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय एकता आवश्यक अपरिहार्य भएको बताएका छन् । उनले भने , “जबसम्म बलियो स्थायी सरकार बन्दैन तबसम्म समस्या समाधान हुँदैन । त्यसैले आग्रह पूर्वाग्रह छोडेर अहिले पनि देशका लागि राष्ट्रिय एकता आवश्यक छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सक्छौँ । एजेन्डामा छलफल गरेर एकताबद्ध हुन सक्छौँ ।” उहाँले मुलुकको वर्तमान समस्यालाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले जनजीविकासँग जोडिएको कृषिलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षा क्षेत्रलाई सुधार गर्न योजनाबद्ध कार्यक्रम आवश्यक रहेको भन्दै सरकारी विद्यालयको स्तर उकास्नुपर्ने बताएका छन् । बेरोजगारीको समस्या समाधान गर्दै मुलुकको आर्थिक क्षेत्रलाई टेवा पु¥याउन कृषि, शिक्षा र पर्यटनलाई प्राथमिकतामा काम गर्नुपर्ने उनले खाँचो औँल्याएका छन् ।