Upalabdhi News

राजनीतिक दलबीच सहमति, सहकार्य गर्दै अघि बढ्ने–खगराज अधिकारी

उपलब्धि मिडिया
पुस २५, २०७९ | ४:४९ बजे


काठमाडौ, पुस २५ गते । प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा गर्दै उनले स्थानीय तह र केन्द्रसँग समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

“समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुखी गण्डकीका जनता बनाउने कोशिसमा रहनेछौँ”, उनले भने । यो जिम्मेवारी असाधारण रहेको र परिस्थितिलाई सामान्य बनाउने भन्दै उनले राजनीतिक दलबीच सहमति, सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । मुख्यमन्त्री अधिकारीले मन्त्रिमण्डल सानो हुने सङ्केत गरेका छन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएकामा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को उनलाई समर्थन छ । चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजीव गुरुङले स्वतन्त्र सांसदकैरुपमा अधिकारीलाई समर्थन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?