वाणिज्य बैंकहरूद्वारा ६ महिनाको वित्तीय विवरण सार्वजनिकः कुन बैंकको नाफा बढ्यो, कुनको घट्यो ?
काठमाडौं । २० ओटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफामा निकै उतारचढाव आएको छ । केही वाणिज्य बैंकहरूमा अर्थतन्त्रमा देखिएको सङ्कटको छाया देखिएको छ । कर्जा असुलीमा समस्या, खराब कर्जाको उच्च बृद्धि, कर्जा प्रवाहमा सुस्ततालगायतका समस्याहरू झेल्दै आए पनि समीक्षा अवधिमा केही बैंकहरूले नाफामा उल्लेख्य प्रगति देखिन्छ ।
६ महिनामा २० ओटा वाणिज्य बैंकहरूले २७ खर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । जुन गतब र्षको तुलनामा ४.६२ प्रतिशत कम हो । गत बर्ष ६ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा ९ ओटा वाणिज्य बैंकहरूको नाफा घटेका कारण समग्रमा बैंकहरूको नाफामा दबाव परेको हो । गत बर्ष दोस्रो त्रैमासको तुलनामा १ अर्ब ३२ करोड ८२ लाख ४४ हजार रुपैयाँले वाणिज्य बैंकहरूको नाफा घटेको वित्तीय विवरणमा उल्लेख छ ।
तथ्याङ्क अनुसार नबिल, ग्लोबल आइएमई, नेपाल, प्रभु, माछापुच्छ्रे, नेपाल एसबिआई, प्राइम, स्टान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबि र एभरेस्ट बैंकको नाफा बढेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, सिटिजन्स, सिटिजन्स बैंक इन्टरनेशनल, कृषि विकास बैंक, कुमारी, स्टयान्डर्ड चाटर्ड र सिद्धार्थ बैंकको नाफा घटेको छ ।
६ महिनामा ११ बैंकको नाफा अर्बमाथिः तथ्याङ्क अनुसार चालु आवको ६ महिनामा ११ ओटा बैंक अर्बपति क्लबमा छन् । जसमध्ये नबिल बैंक र ग्लोबल आइएमई बैंकको नाफा तीन अर्बमाथि छ । नेपाल इन्भेस्टमेन्ट, एभरेष्ट र एनएमबि बैंकले दुई अर्ब माथि नाफा कमाउदा लक्ष्मी सनराइज, हिमालयन, प्रभु, सानिमा, स्ट्यान्डर्ड चाटर्ड र प्राइम कमर्सियल बैंकको नाफा एक अर्बभन्दा माथि रहेको छ ।
प्रभुको नाफामा उच्च बृद्धि हुँदा एनआइसी एशियाको घट्यो
पुस मसान्तसम्म प्रभु बैंकले नाफा रकम ८५.४९ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको सो बैंकले चालु आवको सोही अवधिमा नाफा बढाएर १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ पुर्याएको हो ।
यस अवधिमा सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा प्रभु बैंक रहेको छ । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ५७.१८ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई बैंकको नाफा ४९.५१ प्रतिशत र एनएमबि बैंकको नाफा ४५.६१ प्रतिशतले बढेको छ । सबैभन्दा कम नाफा नाफा बढाउने बैंकमा माछापुच्छ्रे रहेको छ । यो बैंकले गत बर्ष पुस मसान्तको तुलनामा ०.२४ प्रतिशतले नाफा बढाएको हो ।
यता, एनआईसी एशिया बैंकको खुद नाफामा भने उच्च गिरावट आएको छ । गत बर्ष दोस्रो त्रैमासमा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिमा भने सो रकम १५ करोड १७ लाख ३० हजार रुपैयाँमा सीमित गरेको हो । एनआइसी एशियापछि कुमारी बैंकको खुद नाफा ६८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घटेको बैंकद्वारा जारी वित्तीय विवरणमा उल्लेख छ ।
दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यस अवधिमा नबिल बैंकको नाफा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यो बैंकले गत वर्ष सोही अवधिमा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष नविलले नाफा रकम १.२९ प्रतिशतले बढाएको हो । त्यस्तै, ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा छ । यो बैंकले पुससम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष सो अवधिमा ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ४ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।