Upalabdhi News

तराईमा बाक्लो हुस्सु र शीतलहर, ज्यालादारी मजदुर प्रभावित

उपलब्धि मिडिया
माघ १५, २०८१ | १०:४० बजे


काठमाडौं ।  रौतहटसहित मधेश प्रदेशका जिल्लाहरुमा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्याङ्ग्रिने जाडो बढेको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो । बाक्लो हुस्सुसँगको शीत लहरका कारण प्रायः मानिसहरु दिनभरजसो आगो तापेर बस्ने गर्छन । चिसोले यहाँका ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । 

बाक्लो हुस्सु र शीत लहरले बिहान र बेलुका काम नै गर्न नसकेको रिक्सा चालक हरिचन्द्र साहले बताए । दैनिक ज्यालादारी नै प्रभावित हुनुका साथै घर खर्च पुर्याउन मुस्किल परेको उनको गुनासो छ । यसबेला खासै यात्रु नपाउने गरेको उनले बताए । अहिले मुस्किलले दैनिक रु पाँच सयको हाराहारीमा कमाइ हुने गरेको उनको दुखेसो छ । 

कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका र वृद्धवृद्धा  सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । 
कृषि ज्ञान केन्द्र गौरका अनुसार शीतलहरका कारण आलु, गोलभेँडालगायतका तरकारी बालीमा डढुवा रोगको समस्या देखिएको छ ।

शीत लहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिएकाले बालीलाई जोगाउन हप्तामा एकपटक कीटाणुनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किन सुझाव दिएको छ । यता जिल्ला ट्राफिक कार्यालय रौतहटले बाक्लो हुस्सुमा सवारीसाधन चलाउँदा विशेष ध्यान दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?