आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्री खुला, आजदेखि आवेदन दिन सकिने
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र बिक्री खुला गरेको छ । फाइनान्सले आज माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो ।
यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने माघ २३ गतेसम्म खुला रहनेछ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।